तिहारमा फुल र माला पाउनै मुस्किल
कैलाली | कात्तिक १०, २०७९
कैलाली । कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ ।
टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै बिक्री गरिरहेको थिएँ, धेरै उपभोक्ता फूल नपाएर फर्किनुभयो”, उहाँले भन्नुभयो, “डेढ बिघामा खेती गरेको छु, उपभोक्ताको माग पूरा गर्न सकिएन, धेरै जना रित्तै फर्किनुभयो ।”
चार वर्षअघि १० कठ्ठा जमिनबाट यो पेसा थालेका सीतारामले व्यवसाय विस्तार गर्दै लैजानुभएको छ । सीतारामजस्तै कैलालीमा दर्जन बढी नागरिकले व्यावसायिकरुपमा खेती गर्दैआएका छन् । तिहारमा बजारमा फूलका माला तिहारको दुई दिनमै सकिएको व्यापारी बताउँछन् ।
जानकी गाउँपालिका–४ की समिरा धामी माला किन्न बुधबार टीकापुर बजार आउनुभयो । मखमली फूलका माला किन्न आएकी धामी माला नपाएपछि रित्तै फर्किनुभयो । “मखमली फूलका माला लगाउने हाम्रो चलन हो, बजारमा पाइन्छ भनेर ढुक्क भएँ, यहाँ त सकिएको रहेछ”, उहाँले भन्नुभयो, “फूलको नपाएपछि प्लाष्टिकका माला लिएर जाँदैछु, के गर्नु यसअघि प्लाष्टिकका माला कहिल्यै प्रयोग गरेका थिएनौँ ।”
टीकापुर–३ की रमिता विकले पनि बजारमा माला पाउनुभएन । उहाँ पनि माला किन्न बजारसम्म पुग्नुभएको थियो । “माला नपाएपछि गाउँमै फूल खोज्न थालेकी छु”, उहाँले भन्नुभयो, “विगतमा गाउँमा फालाफाल फूल हुन्थे, घरघरमा फूल रोपेका हुन्थे, पछिल्ला केही वर्ष गाउँमा फूल पाउन कठिन छ ।”
कैलालीमा फूलखेतीका लागि जग्गा अभाव छैन । घर वरिपरि जग्गा हुँदा पनि फूल रोप्ने गरेको पाइँदैन । घरमै फूल रोपेको भए फूलको अभाव नहुने ज्येष्ठ नागरिक धौली न्यौपाने बताउनुहुन्छ । “हाम्रा पालामा घर वरिपरि फूलैफूल हुन्थे, कहिल्यै माला, फूल खोज्न, किन्न परेन”, उहाँ भन्नुहुन्छ, “हामी फूलबारीले घर सजाउँथ्यौँ, अचेल त घरभित्र सजाउने, चाडपर्वमा आवश्यक फूल बजार गएर किन्छन् । मानिस कति अल्छी भएका हुन् ।”
तिहार सौन्दर्यताको पर्व पनि हो । तिहारमा झिलिमिली बनाउने, घरआँगन रङ्ग्याउने, पूजाआजा गर्ने गरिन्छ । यसबेला अन्य समयभन्दा बढी फूल प्रयोग गरिन्छ । बजारमा माला र फूल अभाव भएपछि प्लाष्टिकका मालाको व्यापार पनि राम्रो भएको छ । व्यापारी शिव चौधरीले फूलका माला नपाएपछि धेरै मानिस प्लाष्टिकका किन्न आएका बताउनुभयो ।
संस्कृतिप्रेमी पवनदेवी तिमिल्सिना हरेक व्यक्तिले घरघरमै फूलबारी बनाउन आवश्यक रहेको बताउनुहुन्छ । “घरमा थोरै भए पनि फूलबारी चाहिन्छ, फूलबारी मासेर विभिन्न संरचना बनाएका घर धेरै छन्”, उहाँ भन्नुहुन्छ, “घर–घरमै दुई–चार बोट फूल लगाएका भए अहिले अभाव हुने थिएन । वरिपरि जग्गा भएर पनि फूल किन्ने हामी नेपालीको बानी अनौठो छ । यहाँका फूल सकिएपछि भारतबाट ल्याएर फूल बिक्री गरिँदैछ ।”
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

